नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन अवलम्बन गरे संगै सरकारले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासकीय स्वरुप कार्यान्वयन गर्दा साविकमा जिल्ला कृषि विकास कार्यालयले गर्दै आएका कामहरू गर्ने गरी नयाँ संरचनाको रूपमा लुम्बिनी प्रदेश सरकारको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय मातहत कृषि ज्ञान केन्द्र, गुल्मी वि.स. २०७५ साल भाद्र महिनाको २८ गते स्थापना भएको हो। कृषि ज्ञान केन्द्र, गुल्मी (AKC Gulmi) लुम्बिनी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय मातहतमा रहेको जील्लास्तरीय कृषिको कार्यालय हो। गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा अवस्थित यस कार्यालयले जिल्लाभरि आधुनिक, व्यावसायिक र दिगो कृषि प्रणालीको प्रवर्द्धन तथा विकासका लागि प्राविधिक तथा प्रशासनिक सहयोग पुर्याउँदै आएको छ। स्थानीय कृषकहरूलाई आधुनिक प्रविधि, अनुदान, क्षमता अभिवृद्धि तालिम र उन्नत कृषि सामग्री सम्बन्धी सेवाहरू उपलब्ध गराएर कृषि उत्पादन एवं उत्पादकत्व बढाउनु यसको मुख्य उद्देश्य हो। यसका साथै, कृषि ज्ञान केन्द्रले विभिन्न सरकारी योजना तथा कार्यक्रमहरू सञ्चालन गरी किसानहरूको जीवनस्तर उकास्न र जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।